• बुधबार १-१९-२०८१/Wednesday 05-01-2024
  • 03:00:27

मनसुन सुरु भएपछि बाढीपहिरोबाट १२८ को मृत्यु, ४६ जना बेपत्ता

मुलुकभर लगातारको वर्षाका कारण बाढीपहिरो परी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले  बाढीपहिरोमा १ सय २६ जना घाइते र ४६ जना वेपत्ता भएको जनाएको छ । निरन्तर वर्षाले देशभर जनजीवन प्रभावित पारेको छ । वर्षाका कारण बाढी पहिरोको घटनाहरु बढिरहेका छन् । मुख्य नदीमा पानीको बहाव बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै अधिकांश स्थानमा १ सय मिलिलिटर भन्दा बढी पानी परेको छ । उपत्यकाका बागमती, विष्णुमती, हनुमन्ते, मनोहरा लगायतका नदीमा पानीको बहाव बढेको छ ।

उपत्यका बाहिरका मुख्य नदीमा पनि पानीको बहाव निरन्तर बढिरहेको छ । महाशाखाका अनुसार चितवनको नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । कोशी नदीमा पनि सतर्कताको तहसम्म पुगेको छ । यस्तै कन्काई, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र विभिन्न सहायक नदीमा पनि पानीको बहावले खतराको तह पार गर्न सक्ने अनुमान महाशाखाले गरेको छ । महाशाखाले अझै तीन दिनसम्म सतर्कता अपनाउनुपर्ने जनाएको छ । गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ४ गते आइतबारदेखि ६ गते बेलुकासम्म विभिन्न जिल्लामा सयौं स्थानमा पहिरो गएको छ ।

प्रतिकृया दिनुहोस