• मंगलबार २-८-२०८१/Tuesday 05-21-2024
  • 04:00:02

लुम्बिनी विकास कोषमा जथाभाबी कर्मचारी भर्ना गरेर १० करोडभन्दा धेरै अनियमिता

शारदा मल्ल, लुम्बिनी । 

लुम्बिनी क्षेत्र विकास कोषले कानुन विपरीत कर्मचारी भर्ना गरेर १० करोड रुपैयाँभन्दा धेरै खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार कोषले सञ्चालक समितिको स्वीकृति नलिइ र निर्देशिका नै नबनाइ करारमा कर्मचारी भर्ना गरेर १० करोड रुपैयाँभन्दा धेरै खर्च गरेको छ । कोषले कम्प्युटर अपरेटर,  सुरक्षा अधिकृत, सुरक्षा गार्ड, नायव सुब्बा, इन्जिनियर, प्लम्बर लगायत ११ वटा पदमा २७ जना कर्मचारी नियुक्त गरेर ९८ लाख ४३ हजार रुपैयाँ खर्च गरेको छ । नियम विपरीत करारमा कर्मचारी नियुक्त गरेको र नियमित तलब भत्ता खर्च नलेखेको महालेखाले जनाएको छ । 
यस्तै दैनिक ज्यालादारीमा वर्षाैँदेखि एक सय ९५ जना कर्मचारी भर्ना गरेर ३ करोड ९४ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ । लुम्बिनी, तिलौराकोट परिसर, कुदान, देवदह, रामग्राम लगायत क्षेत्रको सुरक्षाको लागि एक सय दुई जना गार्ड नियुक्त गरेर २ करोड ५० लाख ४६ हजार रुपैयाँ र माली, सर सफाइ कर्मी लगायत १ सय २३ जना नियुक्त गरेर २ करोड ५८ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ । यो नियुक्ति पनि नियमसङ्गत नरहेको महालेखाले  जनाएको छ । कोषले अन्य काम गर्दा पनि थप करोडौँ रुपैयाँ जथाभाबी खर्च गरेको छ ।

प्रतिकृया दिनुहोस