रेल सञ्चालन गर्ने जनशक्ति खै ?
अंग्रेजको पालामा सन् १९२७ मा रक्सौल–अमलेखगन्जबाट सुरु भएको नेपाल रेल वेको यात्रा सन् १९३६ मा जनकपुर जयनगर रेल निर्माणसँगै दोस्रो र अन्तिम बनेको अवस्थामा अहिले रेल सेवाका लागि तीव्र गतिमा कार्यहरू भइरहेको पाइन्छ। जसअन्तर्गत हाम्रो देशमा अहिले विभिन्न प्रकारका रेल सेवा सञ्चालन कार्यहरू अघि बढिरहेका छन्। त्यसबेला रेल विभागले नै काम गरेको पाइन्छ। कालान्तरमा नेपाल यातायात संस्थान र रेल कम्पनीमार्फत सञ्चालन हुँदै आएकोमा अहिले रेल विभागको गठन भएको छ।
नेपालमा सामान्य गतिको ब्रोड गेज रेल, द्रूत गतिको स्ट्यान्डर्ड गेज रेलका साथै मोनो रेल र मेट्रो रेल सञ्चालनका लागि कार्य थालनी भएका छन्। देशको सिमानातिर सामान्य गतिका रेल र पूर्वपश्चिममा उच्च गतिका रेलका कार्यहरू भइरहेका छन् भने देशको राजधानी काठमाडौंमा मोनोरेल तथा मेट्रो रेलको कार्य थालनी भएको छ। साथै देशका अन्य सहरमा पनि मोनोरेलका कार्यहरूको स्थानीय तहको समन्वयबाट अध्ययन भएको पाइन्छ।
वास्तवमा नेपालमा रेलविज्ञको अभाव छ। रेल विकासका लागि भनेर २०६८ सालमा रेल विभाग स्थापना भएको थियो। रेल विभाग स्थापनाको रणनीतिक लक्ष्यअन्तर्गत देशभित्र रेल सेवा सञ्जाल विस्तारका साथै पूर्व–पश्चिम र उत्तर–दक्षिण रेल सेवा विस्तार र छिमेकी राष्ट्रहरूले विकास गरेको रेल सञ्जालसँग जोड्नुका साथै देशका मुख्यमुख्य घना बस्ती रहेका सहरहरूमा बढ्दै गएको यातायातको माग र चापलाई सम्बोधन गर्ने गरी मास र्यापिड ट्रान्जिटका विविध मोडेल विकास तथा विस्तार गर्ने रहेको छ। स्थापनाकालदेखि रेल विभागले देशमै रेलविज्ञ (रेलसम्बन्धी पढेका र काम गरेका) हरूको अभावमा विभिन्न विदेशी परामर्शदाताहरूको ज्ञानबाट साथै देशविदेशमा विभिन्न प्रशिक्षण तथा गोष्ठीमा भाग लिएर आफूलाई स्तरोन्नति गरिराखेको अवस्था छ।
रेल यातायात प्रणाली आफैंमा जटिल विषय हो। यो कुनै एक क्षेत्रको विज्ञ वा विज्ञताले पूर्ण हुँदैन। यस रेल यातायात सेवाभित्र विभिन्न किसिमका दक्षता भएका व्यक्तिहरूको आवश्यकता हुन्छ र सबै एकअर्कामा अन्तरनिहित हुन्छन्। हामीले हाम्रो सबैभन्दा नजिकको मित्र तथा छिमेकी राष्ट्र भारतमा रेल यातायात व्यवस्था हेर्ने हो भने त्यहाँ रेल वे मन्त्रालयको स्थापना भएको छ। त्यहीअन्तर्गत रेल निर्माण, स्तरोन्नति, सञ्चालन, व्यवस्थापन, सुरक्षाका लागि विभिन्न निकाय रहेका छन्। अन्य देशमा पनि रेल एक भिन्न निकाय वा कम्पनीअन्तर्गत हुन्छ।
अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने विभिन्न निकाय रेल बनाउन लागि परेको देखिन्छ। स्थानीय तह, केन्द्र विभाग र अरू निकाय रेल बनाउन लागिगरेको देखिन्छ। अहिले चर्चामा रहेको काठमाडौं रिङरोडमा काठमाडौं महानगरपालिकाले मोनोरेल तथा लगानी बोर्डले नागढुंगा–धुलिखेल मेट्रो रेलका लागि कार्यहरू अघि बढाएको छ भने रेल विभाग जसअन्तर्गत रेल, मेट्रोरेल तथा मानोरेल विकास आयोजना छ त्यो पूर्व–पश्चिम तथा उत्तर–दक्षिण रेलमा सीमित रहेको देखिन्छ। रेल विभागले नै काठमाडौं उपत्यकामा मास र्यापिड ट्रान्जिटका लागि सम्भाव्यता अध्ययन गरेको पाइन्छ भने काठमाडौं उपत्यकाको उत्तर–दक्षिण मेट्रो रेल सेवाका लागि कार्य अघि बढेको देख्न सकिन्छ। संविधानको अनुसूची– ५ धारा ५७ को उपधारा (१) मा रहेको संघको अधिकारको सूचीअन्तर्गत विषय २० अनुसार सम्पूर्ण रेल यातायात संघको क्षेत्र अधिकारभित्र पर्ने हुँदा स्थानीय तहहरूले पनि कुन अधिकारबाट रेलसँग सम्बन्धित कार्यहरू अगाडि बढाएका हुन् भन्ने विषयमा छलफल हुन जरुरी छ।
रेल यातायात निर्माण गर्नु एउटा पक्ष रहेको छ भने त्यसको सञ्चालन, व्यवस्थापन तथा मर्मत–सम्भार अर्को महŒवपूर्ण पक्ष हो। निर्माणको अवस्थासम्म जाँदा डिजाइन मूल्यांकन, परिवेक्षण तथा निर्माणसम्ममा धेरैजसो स्वदेशी या विदेशी निजी कन्सलट्यान्ट तथा निजी निर्माण व्यवसायीले गर्न सक्छन् भने पछि सञ्चालन, व्यवस्थापन गर्दा सरकारी वा संस्थानले गर्नुपर्ने हुन्छ, जसमा धेरै संख्यामा जनशक्तिको आवश्यक पर्छ। हरेक स्टेसनमा टिकट काट्ने, सरसफाइ, सुरक्षाका कर्मचारीदेखि रेल इन्जिनियरजस्ता धेरै प्राविधिक, लेखा तथा प्रशासनिक जनशक्तिहरूको आवश्यकता पर्छ। यी सबै जनशक्तिहरूको उत्पादन, प्रशिक्षण तथा परीक्षण गर्नु अत्यावश्यक हुन्छ, जुन कार्यका लागि अहिले रेल विभागबाट सुरुवात भएको पाइन्छ। त्यसका सम्पूर्ण कामको जिम्मेवारी पनि रेल विभागमा नै निहित छ।
रेल्वे सेवाको एक विशेष गुण भनेको रोजगार सिर्जना हो। तर धैरैजसो दक्ष जनशक्ति उत्पादन नभएको खण्डमा पुनः रोजगारजति विदेशीका हातमा पर्ने अवस्था देखिन्छ। रेल यातायात निर्माणसम्मको अवस्थामा आधाभन्दा बढी विदेशीको भर पर्नुपर्ने अवस्थामा अहिलेदेखि नै केही कदम नचाले सञ्चालन, व्यवस्थापन तथा मर्मत–सम्भारमा केही वर्ष पूर्णरूपमा विदेशीको भर पर्नुपर्ने हुन्छ। किनभने हामी केही महिनाभित्रै जयनगर जनकपुरतिरको रेल आफ्नै रेल खरिद गरी सञ्चालनमा ल्याइने योजनामा रहेका छौं।
मुख्यत रेल यातायातलाई एउटा निकाय÷संस्थाअन्तर्गत कार्यान्वयन गराई त्यसको योजना, डिजाइन, निर्माण, सञ्चालन, व्यवस्थापन, मर्मत–सम्भार तथा सुरक्षा गर्दा दीर्घकालीन रूपमा योजनाबद्ध, गुणस्तरीय, सहज, सुलभ तथा सुरक्षित रहनेछ। साथै रेल सेवाअन्तर्गत चाहिने विज्ञहरू तथा जनशक्तिहरूको उचित उत्पादन, रोजगार तथा व्यवस्थापनमा पनि टेवा पुग्नेछ। धेरै साना अथवा पर्यटकीय प्रवृत्तिका रेल सेवा जसले धेरैै सानो क्षेत्रलाई समेट्नेछ। ती योजना स्थानीय तहसँग समन्वय गरी निजी क्षेत्रबाट अरू संस्थानहरूले निर्माण तथा सञ्चालन गर्दा रेल विभागबाट पनि प्राविधिक तथा अन्य क्षेत्रको सहकार्यबाट अघि बढ्दा राम्रो हुनेछ।

.jpeg)



प्रतिकृया दिनुहोस